
देशभर शुक्रबार दिउँसो आंशिकदेखि साधारणत: बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै शुक्रबार राति देशभर आंशिकदेखि साधारणत: बदली रहनेछ । कोसी, मधेस, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
अहिले कोसी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ ।