काठमाडौं, जेठ ३० :

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वय आवश्यक भएको बताएकी छन्।

सशस्त्र प्रहरी बल नेपाल २४ नम्बर गुल्म हेडक्वार्टरले आयोजना गरेको मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले  संकटको बेला स्थानीय सरकार नै जनतासँग सबैभन्दा नजिकको सरकार भएको जनाउँदै उद्धार र राहतमा स्थानीय तहको भूमिका धेरै महत्वपूर्ण हुने बताइन् ।

उपप्रमुख डंगोलले नीति बनाउने काम मात्र होइन, विपद् आउँदा उद्धार गर्न पनि सबै तहका सरकारहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठले पनि नेपाल प्राकृतिक प्रकोपको हिसाबले धेरै संवेदनशील देश भएको बताए।

उनले भने,‘जलवायु परिवर्तनका कारण बाढी, पहिरो जस्ता विपद्का घटना बढिरहेका छन्। काठमाडौँ उपत्यकामा पनि पछिल्ला वर्षहरूमा बाढी र डुबानले ठुलो क्षति पुर्‍याएको छ।’ उनले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृतिम अभ्यासहरु सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्टाउट र महानगरपालिकाबीच संयुक्त अभ्यास गरिएको थियो।