काठमाण्डौँ , भदौ २३ :

चितवनको कालिका नगरपालिका- २ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ ।

पदमपुरमा १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन सुरु गरिएको बताउनुभयो । 

नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

रेन्स्की एग्रो फार्मले डल्ले च्याउ उत्पादन थालेको हो । यसअघि त्यहाँ पाते च्याउ उत्पादन हुँदै आएको थियो । 

फार्मका सञ्चालक कमल शर्मा सुवेदीले एउटा टनेल १० टन कम्पोस्टको क्षमताको भएको बताउँदै यसबाट १८ देखि २० प्रतिशत च्याउ उत्पादन हुने जानकारी दिनुभयो ।

एक वर्षमा छ पटकसम्म उत्पादन गर्न सकिने भएकाले गर्मी मौसमका लागि यो प्रभावकारी मानिएको उहाँले बताउनुभयो ।

प्रतिकिलो चार सय रुपैयाँमा डल्ले च्याउ बिक्री हुने गरेको छ ।