काठमाडौं, जेठ ३० :

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले औपचारिक रूपमा सदनमा यो जानकारी गराएका हुन् ।

नेपालमाथि पतञ्जली आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा साढे १८ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५८ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अन्तर्गत सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि मुद्दा दर्ता भएलगत्तै उनी स्वतः निलम्बनमा पर्ने प्रावधान छ। यही प्रावधान अनुसार नेपालको सांसद पद निलम्बनमा परेको हो।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । नीतिगत निर्णय गरेको आधारमा मुद्दा झेलेका नेपाल पूर्वप्रधानमन्त्रीमा पहिलो हुन् । उनले आफूले कुनै गल्ती नगरेको भन्दै मुद्दा पर्दैमा नडराउने भन्दै अदालतप्रति विश्वास व्यक्त गरेका छन् ।