
भारतको अहमदाबाद शहरमा बिहीबार दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ शुक्रबार फेला परेको छ। ब्ल्याक बक्स विमान दुर्घटनाको अनुसन्धानमा महत्वपूर्ण जानकारी दिने उपकरण हो।
बोइङ ७८७–८ ड्रिमलाइनर मोडेलको उक्त विमान अहमदाबादबाट बेलायतको लण्डनतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो। दुर्घटना बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा उडिरहेको अवस्थामा भएको थियो।
विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए। दुर्घटनामा अधिकांश यात्रुको मृत्यु भएको छ भने एक जना यात्रु चामत्कारिक रूपमा बाँच्न सफल भएका छन्।
प्रहरी उपप्रमुख कानन देसाईका अनुसार हालसम्म २६५ वटा शवको गणना गरिएको छ, जसमा कम्तीमा २४ जना गैर-यात्री (स्थानीय बासिन्दा) को मृत्यु भएको छ। मृतकहरूको औपचारिक सङ्ख्या डिएनए परीक्षणपछि मात्र घोषणा गरिनेछ।
