
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएकाले जनताको घरदैलोमा पुगेर अहोरात्र सेवा प्रदान गरिरहेको बताउनुभएको छ ।
एक्साइसौँ निजामती सेवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सीमित स्रोत, साधन एवं पारिश्रमिकका बावजुद राष्ट्र सेवामा निरन्तर खटिरहेका निजामती कर्मचारीको मनोबल उच्च बनाइ आफ्नो काममा थप उत्प्रेरित तुल्याउन आवश्यक भएको बताउनुभयो ।
मन्त्री गुप्ताले कर्मचारीको क्षमता विकास मार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको औँल्याउनुभयो ।
नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योल हटाइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले जनताको सबैभन्दा नजिकैको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेवा प्रवाह र प्रवर्द्धनका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती सेवाले कानुनी अधिकार प्राप्त गरेको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाइँदै आएको छ ।
मुख्य सचिव एकनारायण अर्यालले नेपालको निजामती सेवाले आफ्नो विशिष्ट मौलिक पहिचानसहित देशको एउटा भरपर्दो स्थायी संयन्त्रको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव भरतमणि सुवेदीले मुलुकको राजनीतिक व्यवस्था र सङ्घीय संरचनाअनुसार कर्मचारीले आफ्ना कामकारबाही ,आनीबानी, आचरण र व्यवहारलाई परिमार्जन र परिष्कृत गर्दै नागरिकमैत्री बनाउन सुझाव दिनुभयो ।
व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन भन्ने मूल नारासहित आयोजित दिवस मूल समारोहमा अघिल्लो वर्ष निजामती दिवसका अवसरमा घोषणा गरिएको उत्कृष्ट निजामती पुरस्कार र निजामती पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामती ऐन शीघ्र जारी गर्न माग गर्नुभयो ।