काठमाडाैं, जेठ ३१ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा व्याप्त गुटबन्दी अन्त्य गर्न सबै क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा सभापति छान्ने व्यवस्था ल्याउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंको क्षेत्र नम्बर ६, प्रदेश ‘क’ मा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले क्रियाशील सदस्यहरूको प्रत्यक्ष सहभागिताबाट सभापति चयन भए मात्र गुटबन्दीको अन्त्य सम्भव हुने दाबी गरे।

“८ लाख ६६ हजार क्रियाशील सदस्य छौं, अब बढेर १२ लाख पुगेको भनिएको छ। ती सबैले प्रत्यक्ष रूपमा सभापति छान्ने व्यवस्था गरौँ। त्यसपछि सभापतिले जो गुट बनाउँछ, त्यो आफैँ ध्वस्त हुन्छ,” थापाले भने।

थापाले हालको प्रतिनिधिमूलक प्रणालीले गुट निर्माणको वातावरण बनाइरहेको बताए। “हाम्रो पार्टीमा गुटबन्दीको समस्या रहिरहन्छ, जबसम्म सबैले प्रत्यक्ष निर्णय गर्न पाउँदैनन्,” उनले स्पष्ट पारे।

उनले माथिदेखि तलसम्म गुटको प्रभावले पार्टी कमजोर बनेको जिकिर गर्दै पार्टीभित्र सुधारका लागि निर्णायक कदम चाल्न आवश्यक भएको बताए।

थापाले पार्टीको १५औँ महाधिवेशन २०८३ साल मंसिरभन्दा अघि हुने पनि दाबी गरे।