काठमाडाैं, जेठ ३१ :

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएपछि त्रिवि शिक्षण अस्पतालको आईसीयूबाट वार्डमा सारिएको छ।

७९ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या देखिएपछि उनलाई दुई साताअघि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। हाल स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई वार्डमा सारिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

‘बोली र खानपिन सामान्य छ। स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ,’ पारिवारिक स्रोतले जनाएको छ।

तर, अक्सिजनको लेभल कहिलेकाहीँ घटबढ हुने भएकाले सुरुवाती चरणमा उनलाई आईसीयूमै राखिएको थियो।  वैद्य विगत वर्षहरूमा पनि दम र संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए।