काठमाडाैं, जेठ ३१ :

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि नेपाली कांग्रेस र एमालेबीच सहकार्य आवश्यक भएको बताएका छन्।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताए ।

‘कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ । लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौँ,’ उनले भने , ‘प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ । हामीबीच सहकार्य आवश्यक छ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए ।

उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए । उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए ।  

एमाले निर्वाचन आयोगका प्रमुख  विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

सङ्गठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग सङ्गठनबाट उपलब्ध हुँदै आएको बताए । सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ ।