
भारतको उत्तराखण्ड राज्यमा तीर्थयात्री चढेको हेलिकोप्टर आइतबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम जागरणले समाचारमा जनाएको छ ।
जागरणका अनुसार उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड र सोनप्रयाग क्षेत्रमा बिहान साढे ५ बजे हेलिकोप्टर खसेको हो ।
केदारनाथ जान लागेको आर्यन कम्पनीको हेलिकोप्टर दुर्घटनामा बच्चासहित सात जनाको मृत्यु भएको हो ।
केदारनाथ धाममा यात्रुलाई छाडेपछि त्यहाँबाट अन्य यात्रु लिएर फर्किंदा हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा पाइलटको पनि मृत्यु भएको छ ।
जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दनसिंह राजवारले गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी दिएको बताए । हेलिकोप्टर गौरी माई खर्कमाथिको जंगलमा खसेको छ । उद्धारका लागि एसडीआरएफको टोली घटनास्थलमा पुगेको छ ।