काठमाडौं, असार १ :

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताको मुद्दाबाट पन्छिन नहुने बताएका छन्।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने स्पष्ट पारे। उनका अनुसार, संसद आजैदेखि नियमावलीअनुसार अघि बढ्नेछ र संघीय निजामति सेवासँग सम्बन्धित महत्वपूर्ण विधेयकहरु समेत प्रस्तुत गरिनेछ।

शोक प्रस्ताव राख्दा समेत वेल घेराउ गरिएकोप्रति आपत्ति जनाउँदै उनले यस्तो व्यवहारलाई सहिदप्रति अपमान भएको बताए। ‘सरकारी बिजनेसमाथिको विरोध त जायज हो,’ उनले भने, ‘तर शोक प्रस्ताव जस्तो संवेदनशील विषयमा पनि विरोध गर्नु संसदको मर्यादा गिराउने कार्य हो।’

प्रमुख सचेतक बर्तौलाले रास्वपाको अवरोधकारी शैलीलाई 'अशोभनीय प्रवृत्ति' भन्दै आलोचना गरे। प्लेकार्ड बोकेर वेल घेराउ गर्ने, डायरीले टेबल ठटाउनेजस्ता गतिविधिले संसदको गरिमा घटाउने उनको धारणा थियो।

बर्तौलाले भने, ‘संसदमा लामो समयसम्म यस्तो अवरोध मात्र कायम राखिरहने, यस्तो मनसायबाट हिँडिरहने कार्यशैलीमा हामी सधैं अल्झिन सक्दैनौँ। हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ।’