काठमाडौं, असार १ :

राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सके मात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

लोकसेवा आयोगको ७५औं वार्षिकोत्सव एवं हीरक जयन्ती समारोहमा आइतबार उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावनाअनुरुप काम गरे संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्न सकिने धारणा राखे । यसले तीव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने उनको विश्वास छ । ‘अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सक्नुपर्छ,’ उनले भने, ‘कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन हुँदैन ।’

राष्ट्रपति पौडेलले  मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्यतम कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त ‘योग्यता, निष्पक्षता र स्वच्छता’ लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनुलाई प्रशंसा गरे ।

‘आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ,’ राष्ट्रपति पौडेलले भने ।

स्वउत्प्रेरित, उच्च नैतिकवान्, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई स्मरण गराए । उनले भने, ‘आयोग सरकारी सेवामा कर्मचारी छनोट र भर्नाको जग हो । यसले सदैव असल र उम्दा कर्मचारी छनोट गर्न सक्नेगरी सकेसम्म योग्यताका सबै पक्षहरु पूर्वानुमान गर्न सकिने खालका परीक्षण विधिहरु अवलम्वन गर्नुपर्दछ ।’

राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भएयता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको धारणा राखे । ‘यसबाट राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व हुन गई राष्ट्रिय एकतालाई मजबुत बनाउन समेत योगदान दिनेनैछ,’ उनले भने, ‘आयोगले संघीयताअनुरुप समावेशी समूहतर्फ उम्मेदवार छनोट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्ने गरी कार्यसम्पादन गर्ने विश्वास मैले लिएको छु ।’

उनले कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा यसले आजसम्म गरेको योगदानसँगै आर्जन गरेको विश्वास, भरोसा एवं प्रतिष्ठालाई कायम राख्दै अघि बढ्नेतर्फ आयोगले कुनै कसर बाँकी नराखी यो प्रक्रियामा समयसापेक्ष सुधार गरी प्रभावकारी ढंगले अघि बढ्न जरुरी रहेको बताए ।