पाँचथर, असार १ :

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।

बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।