हेटौंडा, असार १ :

 बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आइतबार साँझ बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गरेका हुन्। बैठक साँझ साढे ८ बजेपछि मात्रै सुरु भएको थियो।

शुरुमा मन्त्री काफ्लेले गल्तीले ७६ अर्ब बजेट भनेर सम्बोधन गरेपछि प्रदेशसभा बैठकमा हंगामा भएको थियो। उनले तत्काल गल्ती सच्याउँदै ६७ अर्बको बजेट घोषणा गरेका थिए।

बजेटमध्ये २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार चालुतर्फ (३८.६%) र ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार पुँजीगततर्फ (६१.४%) विनियोजन गरिएको छ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटको आकारबारे विवाद भएपछि साँझमात्र बस्न सकेको हो। सहमतिमा ६८ अर्बको बजेट तय भए पनि अन्तिममा केही समय ७२ अर्बसम्मको प्रस्ताव आएपछि विवाद उत्पन्न भएको थियो। पछि ६८ अर्बमै सहमति जुटेपछि मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो।