
इजरायल र इरान बीच पछिल्लो तीन दिन यता विकसित घटनाक्रमलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले ती देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले तेल अभिभ र दोहा स्थित नेपाली राजदूतहरूलाई टेलिफोन गरी ती देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्रथमिकतामा राखेर काम गर्न,नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर रूपमा सुसुसित गर्न निर्देशन दिनुभएको छ ।
हाल इजरायलमा करिब ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली रहेका छन् । दुबै देशमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी आएको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
साथै नेपाल सरकारको तर्फबाट सम्बन्धित निकायमार्फत नियमित रूपमा सुरक्षा सतर्कता सम्बन्धी सूचना प्रवाह भइरहेको र नेपालीहरूको हित सुनिश्चित गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई आवश्यक परेमा सम्बन्धित नेपाली दूतावाससँग सम्पर्क गर्न तथा टेलिफोन वा इमेलमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।