
तस्बिर : रासस
हुम्लाको सर्केगाड गाउँपालिका ३ स्थित उनापानीको औल बस्तीमा आगलागी भएको छ । आगलागीमा परेर आठवटा घर नष्ट भएका छन् ।
गएराति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज (सोमबार) बिहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।
आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए । उनले भने, ‘आगो के कति कारणले लागेको भन्ने कुनै एकीन भएको छैन । सुरुमा आगलागी हुने गोठका धनी बिर्ख रावतका परिवार सबै लेकको बस्तीमा बस्ने गर्दथे ।’
सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुबिन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दूधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ पीडित धनबहादुरले बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।