काठमाडौं, असार २ :

प्रतिनिधिसभाको बैठक आज पनि विपक्षी दल रास्वपा र राप्रपाको विरोधकाबीच जारी छ । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै छानबिन र राजीनाको माग गर्दै रास्वपा सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले अवरोधका बाबजुद बैठक सञ्चालन गरेपछि सांसदहरू वेल अगाडि आएर नारा लगाइरहेका छन् ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी छ। माओवादीले सहमति जनाए पनि रास्वपा र राप्रपा भने असन्तुष्ट छन् ।

बैठक सुरु भएपछि सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्ने समय दिएका थिए । लिङ्देनले जबर्जस्ती बैठक नचलाउन आग्रह गर्दै यदि बैठक चलाइए बहिष्कार गर्ने र त्यस दिनको भत्ता नलिने घोषण गरेका छन् । 

त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । परियारले पनि विरोधका बाबजुद संसद् बैठक सञ्चालन गरिनु उपयुक्त नहुने धारणा राखे पनि सभामुख घिमिरेले पेलेरै बैठक सञ्चालन गरिरहेका छन् ।