दार्चुला, असार २ :

भारतले नेपाली पक्षलाई जानकारी नदिई दार्चुलास्थित नेपाल-भारत जोड्ने अन्तर्राष्ट्रिय सीमा पुल एकतर्फीरूपमा बन्द गरेको छ। धारचुला बजारमा भएको एक हत्या घटनापछि स्थानीय दबाबमा परेर सोमबार बिहान ११:०६ बजे पुल बन्द गरिएको हो।

गत जेठ २४ गते धारचुला बजारमा कमलेश लानुको चक्कु प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्न ३ जना फरार छन्, र उनीहरू नेपालतिर प्रवेश गरेको आशंका गरिएको छ। घटनापछि पीडित पक्षले एफआईआर दर्ता गराए पनि दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै भारतीय पक्षमा आक्रोश बढेको थियो।

अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्ट नेतृत्वको टोलीले  पिथौरागढ जिल्लाका उपजिल्लाधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषी पक्राउ नपरेसम्म धारचुला बजार र सीमा पुल बन्द गर्न चेतावनी दिएका थिए। सोही दबाबका कारण भारतीय सुरक्षाकर्मीले एकतर्फीरूपमा पुल बन्द गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।

पुल बन्द भएपछि दुवै देशका सर्वसाधारण प्रभावित भएका छन्। नेपालीहरू भारततर्फ अलपत्र परेका छन् भने भारतीयहरू नेपालतर्फ रोकिएका छन्।