काठमाडौं, असार २ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् । परराष्ट्र मन्त्रालयमा सोमबार राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।

त्यस अवसरमा राणाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन् । जवाफमा राजदूत बासले अहिले त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी गराएका थिए ।

परराष्ट्र मन्त्रालयले आइतबार मात्र विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपाली सुरक्षित रहेको जानकारी गराएको थियो । पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँ स्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।

मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने पनि विज्ञप्तिमा उल्लेख छ ।