काठमाडौं, असार ३ :

इजरायल र इरानबीचको  संघर्ष पाँचौं दिनमा प्रवेश गरेको छ। दुबै पक्षले आआफ्ना आक्रमणहरू विस्तार गरिरहेका छन्।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानमा पुनः हवाइ सुरक्षा प्रणाली सक्रिय गरिएको छ। इजरायली सेनाले इरानबाट आफुतर्फ प्रक्षेपित क्षेप्यास्त्रहरू पत्ता लगाएको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै इरानी नागरिकहरूलाई तेहरान खाली गर्न चेतावनी दिएका छन्। तर चेतावनी दिएको केही समयपछि नै तेहरानमा आक्रमण भएको हो । ह्वाइट हाउसका अनुसार मध्यपूर्वमा भइरहेका घटनाका कारण उनी जी–७ शिखर सम्मेलन छोट्याएर अमेरिका फर्कंदैछन्।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई निकै पछाडि धकेलेको विश्वास व्यक्त गरे।  हामीले तिनीहरूलाई धेरै पछाडि पठाइरहेका छौं भन्ने मेरो अनुमान छ। म यसबारे विस्तृत विवरण दिन सक्दिन उनले एक पत्रकार सम्मेलनमा भनेका छन्।

इरानबाट प्रक्षेपण गरिएको पछिल्लो आक्रमणबाट कुनै पनि क्षति वा मृत्यु नभएको जनाइएको छ ।

सोमबारको सुरुवातमा इजरायलले तेहरानस्थित इरानी सरकारी सञ्चारमाध्यमका भवनहरूमा आक्रमण गरेको दाबी गरेको छ । जसको दृश्य प्रत्यक्ष टेलिभिजन प्रसारणमा देखिएको थियो। फुटेजमा समाचारवाचक विस्फोटपछि आत्तिदै उठेको देखिन्छ। इरानी सरकारी सञ्चारमाध्यमले पनि यस आक्रमणको पुष्टि गरेका छन्।

इरानी राज्य टिभीले इजरायलका N12 र N14 टेलिभिजन च्यानलहरूलाई खाली गर्न आदेश दिएको जनाएको छ। यो आदेश  इरानको प्रसारण संस्थामाथि गरेको शत्रुतापूर्ण आक्रमणको जवाफस्वरूप दिइएको समाचार छ ।

यसैबीच इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार दिनदेखिको हवाई युद्ध रोक्न दबाव दिन आग्रह गरेको छ। इजरायललाई युद्धविरामका लागि दबाव दिन राष्ट्रपति ट्रम्पलाई तेहरानले आग्रह गरेको छ ।सट्टामा इरानले आणविक वार्तामा लचिलोपन देखाउने वाचा गरेको स्रोतहरूले बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने इजरयल विजयको मार्गमा रहेको बताका छन् । 

आक्रमणमा मृत्यु हुनेहरुको सङ्ख्या बढ्दै गएको छ । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबारदेखि इजरायली आक्रमणबाट कम्तीमा २२४ जनाको मृत्यु भएको जनाएको छ। इजरायलमा मृत्यु हुनेको सङ्ख्या बढेर २४ पुगेको छ।