असार ३ :

 पहिरो र बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

गए राती भएको वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

गाउँपालिकाको  कोदारी, लार्चा र  कोप्लाङमा पहिरो गएको छ भने  खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी छ ।

सडक बन्द भएपछि यात्रुहरु बीचबाटोमा नै  अलपत्र परेका छन् ।

यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गतको दुम्किबासमा गएरातीको बर्षाले डाईभर्सन बगाएको छ ।  वर्षासँगै खोलामा आएको बाढीले विनयी खोलामा निर्माण गरिएको डाईभर्सन बगाएको प्रहरीले जनाएको छ ।

डाईभर्सन माथिबाट पानि बगेको कारण बाटो बन्द भएको छ ।  यात्रुवाहक सवारी साधन र साना सवारी साधनहरु होङ्गसी गेटबाट सर्दी हुँदै बैकल्पिक सडकबाट संचालन गरिएको छ भने मालबाहक ठुला सवारी साधनहरु भने रोकीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

सोमबारदेखि आएको वर्षाका कारण देशका अन्य मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । ललितपुरस्थित कान्तिलोकपथ र गुल्मीस्थित कालिगण्डकी करिडोर पनि अवरुद्ध भएको छ ।