
गृहमन्त्री रमेश लेखकसँग डा. केशव श्रेष्ठले भेट गरेका छन् । मन्त्रीको सरकारी निवास भैंसेपाटी पुगेर श्रेष्ठले लेखकसँग मंगलबार भेटेका हुन् ।
भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको असहयोगबारे गुनासो पोखेका थिए । जवाफमा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाएको लेखकको सचिवालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका डा. श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।
फेसबुकमार्फत ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो ।
दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौंडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको उनले फेसबुक पोस्टमा लेखेका छन् ।