बागलुङ, असार ३ :

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढंगले काम गर्न आवश्यक रहेको बताएका छन् ।

वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए । नेपाल प्रेस युनियन बागलुङले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनले संसद् अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकामा जोड दिए । बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उनको भनाइ छ ।

लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको महतले बताए । आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पुर्‍याउने पनि उनले उल्लेख गरे ।

उनले आगामी मंसिरमा पार्टीको महाधिवेशन सम्भव नदेखिएको जिकिर गरे । भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन नपर्ने महतको जिकिर छ ।

‘रास्वपासँग संसद् अवरुद्ध गर्ने मुद्दा नै छैन’
उनले रास्वपाले मुद्दाबिनै संसद्‌मा नाराबाजी गरिरहेको दाबी पनि गरे । रास्वपाले बिनाकारण संसद् अवरुद्ध पार्ने प्रयास गरिएको जिकिर गरे । ‘संवैधानिक निकायले कर्मचारीमाथि छानबिन गरिररहेको छ, गृहमन्त्रीलाई आरोपित गरेको पनि छैन,’ उनी भन्छन्, ‘कर्मचारीमाथि अनुसन्धान चल्दा मन्त्रीले राजीनामा दिन थाल्ने हो भने देश चल्न सक्दैन । उहाँहरूको सभापति रवि लामिछाने र अहिले केश नितान्त फरक हो ।’

त्यति बेला गृहमन्त्रीमाथि प्रहरीले छानबिन गर्न नसक्ने भएकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको तर गृहमन्त्रीको राजीनामा नमागेको उनले स्मरण गरे । ‘अख्तियार अनुसन्धान आयोग स्वायत्त निकाय हो, यसले कर्मचारीमाथि छानबिन गरिरहेको छ, यसमा गृहमन्त्री ओरोपित हुनुहुन्न,’ उनले भने ।