काठमाडौं, असार ३ :

अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज (मंगलबार) प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् ।

तीन महिनाअघि स्वदेश फर्किएका शेर्पाले जनस्वास्थ्यका क्षेत्रका अनुसन्धान परियोजना सञ्चालन गर्दै आएका छन् । विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री ओलीको आग्रहपछि  शेर्पा  स्वदेश फर्किएका हुन् ।

गत वर्ष संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भएर अमेरिकाको बोस्टनस्थित हार्बर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन भएका दिन त्यहाँस्थित विश्वविद्यालयमा विभिन्न विषयमा अध्यापन र अध्ययनरत नेपाली शिक्षक-विद्यार्थीहरुसँग संवाद गरी प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्न आग्रह गरेका थिए ।

त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने ओलीले विश्वास दिलाएका थिए । ओली स्वदेश फिर्ता भएपछि त्यहाँ भेट भएका नेपाली शिक्षक-विद्यार्थीहरु सबैलाई सम्बोधन गरी पत्र पठाइ मेधावी विद्यार्थीले मातृभूमिको समृद्धि र हितका लागि साथ दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीको पत्रबाट उत्साहित हुँदै शेर्पाले बेलायतको ब्रिस्टल विश्वविद्यालयसँगको सहकार्यमा ब्राइट भिजन फाउन्डेसन दर्ता गरी नेपालका नसर्ने रोगहरुको अवस्था, त्यसको उपचार तथा उपयुक्त पोषणका विषयमा जनस्वास्थ्यसम्बन्धी १० करोड रुपैयाँको अनुसन्धान परियोजना सञ्चालन गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

उक्त पाँचवर्षे परियोजनालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग पनि सहकार्य गरिने शेर्पाले जनाए ।

फाउन्डेसनले सोलु्खुम्बुमा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार सात सयलाई सेवा दिइसकेको छ । जिल्लामा ग्रामीण भेकका मानिसलाई लक्ष्य गरी ब्राइट फ्युचर कम्प्युटर सेन्टरमार्फत निःशुल्क तालिम सञ्चालन गरेको छ ।

सोलुखुम्बुको सल्लेरीका शेर्पाले अमेरिकाको हार्बर्ड विश्वविद्यालयमा इम्युनोलोजी विषयमा छात्रवृत्ति पाई अध्ययन पूरा गरेका थिए । उनले अनुसन्धानका क्षेत्रमा सरकारले कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने र नेपालको अनुसन्धानात्मक जर्नलहरुलाई सबल बनाइ अन्तर्राष्ट्रियस्तरमा सञ्चार गराउन सुझाए ।

प्रधानमन्त्री ओलीले विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमा केही गर्छु भन्ने अठोट लिएकामा शेर्पाप्रति धन्यवाद दिँदै थप उज्ज्वल भविष्यको कामना गरे ।