
नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपाल दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रि-देशीय टी-ट्वेन्टी आई सिरिजमा पहिलो जित दर्ता गरेको हो । घरेलु टोलीले भने पहिलो हार व्यहोरेको हो ।
मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो । स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बलअगावै ८ विकेटको क्षतिमा भेटायो ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर नेपालले हार बेहोरेको थियो ।
मंगलबारको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ३० रन सर्वाधिक रह्यो । करण केसी ३ र सन्दीप लामिछाने १ रनमा नटआउट रहे ।
२१ बलमा १४ रन बनाएका दीपेन्द्रसिंह ऐरी क्याच आउट भए । १४ बलमा १३ रन बनाएका बसिर अहमद माइकल लिस्कको बलमा कट बोल्ड भए भने किरण ठगुन्ना ११ रनमा आउट भए ।
लोकेश बम ९ रनमा पेभेलियन फर्किए । कप्तान रोहित पौडेलले सात र अनिल शाहले ३ रन जोडे । रुपेश सिंहले ६ रन बनाए ।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली २ बलअगावै ९७ रनमा समेटिएको थियो ।
यो जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड तीनवटै टोलीको समान २-२ अंक रहेको छ ।