
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ।
खेमानीलाई मंगलबार राति शारजाहबाट काठमाडौं उत्रिएपछि विमानस्थलको आगमन भन्सार क्षेत्र नजिकको टनेलबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट १ किलो १५९ ग्राम अर्धठोस स्वरूपको सुन बरामद गरिएको छ। उक्त सुन तीनवटा डल्लाको रूपमा प्लास्टिकले बेरिएको अवस्थामा भेटिएको हो।
खेमानी एयर अरेबियाको उडानमार्फत नेपाल आएकी थिइन्। संकास्पद गतिविधि देखिएपछि जाँच गर्दा सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
हाल उनलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार विभागको जिम्मा लगाइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालमा पछिल्लो समय त्रिभुवन विमानस्थलबाट ठुलो मात्रामा सुन पक्राउको घटना सार्वजनिक भएको छ । यति हुँदा पनि तस्करहरुले सुन भित्र्याउने काम रोकेका छैनन् । सुनसँगै भरिया पक्राउ हुने गरेको भने पनि सुनको मालिक अहिलेसम्म पक्राउ नहुनुले सेटिङ्गको आशंकालाई बल पुर्याएको छ ।