
इजरायल र इरानबीच जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने माग गर्दै मानवअधिकार तथा शान्ति समाजले बुधबार काठमाडौँमा प्रदर्शन गरेको छ। इजरायलको दूतावास र इरानको वाणिज्य दूतावास अगाडि शान्तिको सन्देशसहित समाजले प्रदर्शन गरेको हो।
समाजले सुरु गरेको ‘युद्ध विरुद्धको अभियान’ अन्तर्गत भएको सो प्रदर्शनमा सहभागीहरूले युद्धले मानव जीवनमा पार्ने असरबारे चिन्ता व्यक्त गरेका थिए। समाजकी सभापति रेनुका पौडेलका अनुसार प्रदर्शन इजरायली दूतावास अगाडि आधा घण्टा र त्यसपछि इरानी वाणिज्य दूतावास अगाडि थप आधा घण्टा गरिएको थियो।
‘संसारको जुनसुकै कुनामा युद्ध भए पनि हामी चुप लागेर बस्न सक्दैनौं,’पौडेलले भनिन्, ‘इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्छ भन्ने मागसहित हामी शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हौं।’
समाजका संस्थापक सभापति कृष्ण पहाडीले युद्धका लागि दुवै पक्ष जिम्मेवार रहेको धारणा राखे।
