
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् ।
पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधनमा उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए । उनले त्यही गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको पनि उल्लेख गरे ।
उनले सुशासन र जनतामा सेवा-प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पूरा हुने बताए । यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुने राष्ट्रपति पौडेलको भनाइ छ ।
पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तर्विरोधहरूलाई सूक्ष्म ढंगले अभिलेखन गर्न पनि योगदान गरेको पौडेलको भनाइ छ । ‘पुष्पलाल कम्युनिस्टहरूबीच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो । उहाँ मार्क्सवादी र वर्ग संघर्षको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान सम्भव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता हुनुहुन्थ्यो,’ पौडेलले भने ।
उनले पुष्पलालको चिन्तन नेपाली कम्युनिस्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न महत्त्वपूर्ण वैचारिक जग भएको धारणा राखे । पुष्पलालको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गरेको उनको भनाइ छ ।
‘पुष्पलालको यो चिन्तन नेपाली कम्युनिस्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्त्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु । उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गर्यो । पछि यसलाई मदन भण्डारीबाट बहुदलीय जनवाद भनेर दार्शिनीकीरण गर्ने प्रयास भयो भने जनताको जनवाद र नौलो जनवाद भन्नेहरू हराएर गए,’ उनले भने ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले राजनीति तर्फको सम्मान शान्त मानवी, इतिहास तर्फको सम्मान डा. मेदिनीप्रसाद सेडाई र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए ।