
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको जनसंगठनात्मक कमजोरीप्रति खुलेर चिन्ता व्यक्त गरेका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेको आह्वानमा पहिलाजस्तो जनसहभागिता नहुनु गम्भीर चिन्ताको विषय भएको बताए ।
‘एउटा समय थियो, जब पार्टीको एउटा आह्वानमा हजारौं, लाखौं मानिस सडकमा निस्किन्थे,’ पौडेलले भने, "तर अहिले त्यति संख्यामा मान्छे उतार्न गाह्रो भएको छ। केही सय जनासमेत ल्याउन धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ।’
पार्टी र कार्यकर्ताबीचको उत्साहको कमी नै यस्तो स्थितिको प्रमुख कारण भएको पौडेलको ठम्याइ छ। ‘पार्टीभित्र किन यस्तो शिथिलता आयो? कार्यकर्तामा किन जोश घटेको छ? यसबारे छलफल गर्न जरुरी छ,’ उनले थपे।
तर, पौडेलले पार्टी नेतृत्व अझै सक्षम र समस्याहरूको समाधान गर्न सक्ने स्थितिमा रहेको दाबी गरे। ‘एमालेभित्र आज जुनसुकै समस्या छन्, ती हाम्रो नियन्त्रणभित्र छन्। समाधान गर्न नसकिने खालका समस्या देखिएका छैनन्,’ उनले विश्वास व्यक्त गरे।
उनको अभिव्यक्तिले एमालेभित्र गहिरिंदो असन्तोष र संगठनात्मक चुनौतीहरू सतहमा ल्याएको देखिन्छ।