
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको संयोजकत्वमा बुधबार ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको स्थलगत अनुगमन गरिएको छ। समितिका सदस्य सांसदहरू, मन्त्रालयका उच्च अधिकारी, प्राविधिक टोली र निर्माण व्यवसायीहरू समेतको उपस्थिति रहेको थियो।
पटक–पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरिएको फ्लाईओभरको निर्माण कार्य सम्पन्न भइसकेको छ।झण्डै तीन वर्ष अघि शुरु गरिएको उक्त परियोजनाको उद्देश्य ललितपुरको मुख्य सडकखण्डमा बढ्दो सवारी चाप व्यवस्थापन गर्दै सहज र सुरक्षित यातायात प्रवाह सुनिश्चित गर्नु हो।
फ्लाईओभरको लम्बाइ करिब ८०० मिटर रहेको छ भने यसले कोटेश्वर–एकान्तकुना खण्डमा यातायात सञ्जाललाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।
सो फ्लाईओभर यही असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा औपचारिक रूपमा उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ। उद्घाटनपछि फ्लाईओभर सर्वसाधारणको लागि सञ्चालनमा ल्याइनेछ।
समितिका सभापति सिंहले निर्माणको ढिलाइबारे तथ्यगत समीक्षा गर्दै आगामी दिनमा यस्ता संरचना निर्माणमा समयमै गुणस्तरीय कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए।