काठमाडौं, असार ४ :

इजरायल र इरानबीच विकसित परिस्थितिका कारण ती देशहरूमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा उद्धारका लागि नेपाल सरकारले आवश्यक पहल गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नियोगहरू मार्फत राहत, उद्धार र स्वदेश फिर्तीको तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। साथै, तेस्रो मुलुकको ट्रान्जिट प्रयोग गर्नुपर्ने अवस्थामा छिमेकी राष्ट्रसँग समन्वय गरिनेछ।

बैठकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षा सन्देश तथा यात्रा परामर्श जारी गर्ने निर्णय गरेको छ। मन्त्रालयले इजरायल, इरान र छिमेकी मुलुकहरूमा रहेका नेपालीको तथ्यांक अद्यावधिक गर्ने निर्णय पनि गरेको छ।

परराष्ट्र मन्त्रालयको सहसचिवको संयोजकत्वमा रहेको श्रम आप्रवासन तथा वैदेशिक रोजगार समस्या समाधान कार्यदललाई आपतकालीन प्रतिकार्य टोलीका रूपमा परिचालन गर्ने सिफारिस गरिएको छ। साथै, यात्रा स्थगन वा हवाई टिकट सार्नुपर्ने अवस्थामा थप शुल्क छुटको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिनेछ।

सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले वैदेशिक रोजगारमा रहेका नेपालीको मानसिक स्वास्थ्यको ख्याल राख्दै ‘भर्चुअल’ तथा ‘टेलिमेडिसिन’ सेवा विस्तार गर्न पनि निर्देशन दिएको छ। उद्धारका लागि वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषलाई तयारी अवस्थामा राखिएको छ।

मन्त्रालयले सम्बन्धित देश र नेपाल सरकारले जारी गरेका सूचनाअनुसार सर्तकता अपनाउन समेत अनुरोध गरेको छ। बैठकमा संसदीय समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र, गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।