काठमाडौं, असार ४ :

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई पदबाट निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी गर्दै पाण्डेलाई हालकै पदमा काम गर्न दिन भनेको हो।

आदेशमा भनिएको छ, ‘निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनु’। उक्त आदेश उच्च अदालत नियमावली, नियम ४२ (१) बमोजिम दिइएको हो।

राजुनाथ पाण्डेले निलम्बनविरुद्ध मंगलबार उच्च अदालत पाटनमा उत्प्रेषणको रिट दायर गरेका थिए। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, उपप्रमुख, मेयर, निमित्त प्रहरी प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाई रिट दिएका थिए।

पाण्डेमाथि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको आरोपमा छानबिन प्रक्रिया थालिएको थियो। छ।  पाण्डे निलम्बित भएपछि काठमाडौं महानगरपालिकाको प्रहरी बलको  निमित्त प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीलाई दिइएको छ ।
पाण्डे पुरानै जिम्मेवारी सम्हाल्न भोलि नै महानगर जाने भएका छन् ।