काठमाडौं, असार ४ :

नेपाल-चीन सीमा क्षेत्रका नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। चिनियाँ अधिकारीहरूले अत्यधिक वर्षाको सूचना दिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकले सतर्कता अपनाएका हुन्।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार, चीनको प्रहरी कार्यालयबाट असार ३ देखि ७ गतेसम्म तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदी क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सूचना आएको हो। उक्त सूचनाको आधारमा भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।

प्रशासनले भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, र चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रलाई जोखिमयुक्त मानेको छ। ती क्षेत्रमा बाढीको सम्भावना रहँदा सुरक्षित स्थानमा बस्न वा सतर्क रहन भनिएको छ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा भारी वर्षा भएको जानकारी दिएको छ। महाशाखाका अनुसार देशभर विभिन्न स्थानमा पानी परिरहेको हुँदा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।