काठमाडौं, असार ५ :

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।

पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेसँगै उनी आज (बिहीबार) कार्यालय पुगेका हुन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

पाण्डेले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश जारी गरेको थियो ।