काठमाडौं, असार ५ :

एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बजेट पुस्तिका च्यातेका हुन् ।

दैलेख हुँदै जुम्ला जाने सडकमा ७९ किलोमिटर दूरी छोटिन्छभन्दा सरकारले नसुनेको उनले बताए । ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखी भएको हुनाले बजेटको किताब हेरेँ,’ उनले भने, ‘जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु ।’

उनले ‘बजेट नै उल्टो बाटोमा’ रहेको भन्दै पुस्तक च्यातेको जनाए । उनले बजेटमा एकाधिकार कायम रहेको धारणा राखे । ‘बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद ।’

थापा दैलेख क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनी प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिसमेत हुन् ।