उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरू भएसँगै बागमती नदी आसपासको सम्भावित बाढी जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार गोकर्ण र माकलबारी हुँदै सुन्दरीजल क्षेत्रसम्मको निरीक्षणपछि मन्त्रालय मातहतका निकायहरूलाई आवश्यक पूर्वतयारी तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
उनीसँग सहरी विकास मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली सहभागी थियो। निरीक्षणका क्रममा ढल व्यवस्थापन, नदी सौन्दर्यकरण तथा मन्त्रालयअन्तर्गतका अन्य कामको अवलोकन गरिएको हो।
उपप्रधानमन्त्री सिंहले बागमती नदी स्वच्छ बनाउने तथा ढल व्यवस्थापनलाई प्राथमिकता दिई कार्यान्वयन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई निर्देशन दिएका छन्।
स्थानीय तहको भूमिकाबारे गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालले पालिकाले बागमती सफाइमा गरिरहेका प्रयासहरूको जानकारी दिएका थिए।यसअघि बुधबार मात्रै उपप्रधानमन्त्री सिंहले विष्णुमती नदीको बुढानीलकण्ठ क्षेत्रको पनि निरीक्षण गरेका थिए।