काठमाडौं, असार ५ :

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियामाथि न्यायालयमा हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका छन्।

प्रतिनिधिसभामा बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथिको छलफलमा सिंहले मन्त्री चौरसियाले बिहानै न्यायाधीशलाई फोन गरेर मुद्दा प्रभावित पार्ने गरेको दाबी गर्दै मन्त्रीको कल डिटेल सार्वजनिक गर्न माग गरे।

उनले भने, ‘नेता र न्यायाधीशको कल डिटेल सार्वजनिक हुनुपर्छ। असत्य ठहरिए म सांसद पद त्याग्न तयार छु।"

सिंहले न्यायमा दलीय हस्तक्षेप बन्द गर्नुपर्ने र न्यायाधीशको नियुक्ति सिफारिस होइन, योग्यता आधारित हुनुपर्नेमा जोड दिए। न्याय परिषदलाई ‘दलीय सिण्डिकेट’को संज्ञा दिँदै उनले त्यसको विघटनको माग समेत गरे। 

उनको अभिव्यक्तिप्रति कांग्रेस सचेतक सुशिला थिङले आपत्ति जनाउँदै मन्त्रीको कल डिटेल माग्ने कुरा संसदको रेकर्डबाट हटाउन अनुरोध गरिन्।