
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले देशको युवापुस्तामा प्रदान गर्दै आएको अनुशासन, नेतृत्व र सेवा भावना सकारात्मक रहेको बताएका छन् ।
नेपाल स्काउटको ७४औं स्थापना दिवसका अवसरमा काठमाडौंस्थित स्काउटको प्रधान कार्यालय लैनचौरमा बिहीबार आयोजित समारोहमा उनले यस्तो बताएका हुन् । देशभरका स्काउट, प्रशिक्षक तथा शुभेच्छुकलाई स्थापना दिवसको शुभकामना दिँदै उनले भने, ‘नेपाल स्काउटको निरन्तर प्रयासले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीलाई चरित्रवान्, स्वावलम्बी र समाजसेवी नागरिकका रूपमा विकसित गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ ।’
स्काउट ऐन २०५० अन्तर्गत युवालाई नैतिक, बौद्धिक तथा सामाजिक शिक्षामार्फत जिम्मेवार नेतृत्वतर्फ उन्मुख गराउन संस्थाले गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उनले सातै प्रदेश र ७५३ स्थानीय तहमा फैलिएको स्काउट सञ्जाल र यसमार्फत परिचालित ५० हजारभन्दा बढी स्वयंसेवक युवा स्काउटको योगदानको स्मरण गरे ।
‘लागुपदार्थ दुर्व्यवसन निवारण, महिला हिंसाविरुद्ध अभियान, किशोरी स्वास्थ्य सचेतना तथा विपद् व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्दै नेपाल स्काउटले गर्दै आएको समाजिक रूपान्तरण महत्त्वपूर्ण छ,’ उनले भने, ‘स्काउटका सदस्यहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सफल हुनु प्रशंसनीय छ ।’
उपराष्ट्रपति यादवले विपद् व्यवस्थापनमा दक्ष टोली निर्माण, स्वयंसेवा अभियानका सशक्त गतिविधि तथा महिला नेतृत्व प्रवर्धनमा संस्थाको अग्रसरतालाई सशक्त प्रेरणा स्रोतका रूपमा लिइनुपर्ने बताए । उनले स्काउटको आगामी यात्रा अझ प्रभावकारी, समावेशी र नवीन उपलब्धिले सम्पन्न होस् भन्ने कामना गरे ।