
नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकहरुको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा भाग लिँदै सांसद भण्डारीले संसदभित्र भएका असहमतिलाई छलफल गर्दै समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘यो देशमा विधिको शासन, जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर आएको पनि ३४ वर्ष पूरा भयो । यही उद्देश्यका निम्ति धेरैले ज्यान गुमाए, धेरै अपाङ्ग भए । जुन दिन संसद्मा छलफल गर्ने हो त्यसमा हामीहरूको बीचमा असहमति रहनुहुँदैन । कोही कुर्सीमा बसेका छन् कोही भुँइमा बसेका छन् कोही बोलिरहेका छन् यो के हो ? यसको समाधानका लागि सरकारलाई आग्रह गर्दछु ।’
सांसद भण्डारीले समाज युवाविहीन हुँदै गएकाले विदेशिने युवालाई रोक्नुपर्नेमा जोड दिए । उनले भने, ‘युवाहरु शिक्षा र रोजगारीका नाममा बाहिर गइरहेका छन्, हामी युवाविहीन हुँदै छौँ । गाउँघरमा बिरामी हुँदा, मृत्यु हुँदा शव बोक्ने मानिससमेत छैन । त्यसैले यस विषयमा हामी गम्भीर हुनुपर्छ ।’