
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएपछि सभामुखसहित सत्तापक्ष र प्रमुख विपक्षी दलले रास्वपालाई अवरोध नगर्न आग्रह गरेका छन्। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखको आग्रह अस्वीकार गर्दै आफ्नो विरोध जारी राख्ने अडान दोहोर्याएको छ।
सभामुख देवराज घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई संसद् भवनको कार्यकक्षमा बोलाई प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्न र होहल्ला रोक्न आग्रह गरेका थिए। सभामुखले विरोधका अन्य स्वरूप अपनाउन सकिने सुझाव दिँदै प्रधानमन्त्री बोलिरहँदा वेलामा होहल्ला गर्नु शोभनीय नहुने टिप्पणी गरेका थिए।
रास्वपाले भने आफ्नो विरोधको कार्यक्रम यथावत् राख्ने बताउँदै प्रश्नोत्तर कार्यक्रममै अवरोध जारी राख्ने स्पष्ट पारेको छ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शान्तिपूर्ण रुपमा सञ्चालन हुनेमा अन्य दलले चासो देखाएका छन्। सत्तारूढ दलका मुख्य सचेतक महेशकुमार बर्तौला र प्रमुख विपक्षी दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपालाई संसद्मा मर्यादित व्यवहार गर्दै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको वातावरण बनाउन आग्रह गरेका थिए।