
निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रिय सभा र स्थानीय तहका रिक्त स्थानमा निर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आयोगले प्रतिनिधिसभाको रुपन्देही–३ र गण्डकी प्रदेशसभा अन्तर्गत मनाङ–१ (२) मा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्तावबारे छलफल गरेको हो। आयोगले यही असार १६ गतेभित्र निर्वाचन मिति तय गर्ने तयारी गरिरहेको जनाएको छ।
त्यस्तै, आयोगले आगामी फागुन २० गते राष्ट्रिय सभामा रिक्त हुने १८ सिटका लागि समयमै निर्वाचन गर्नुपर्ने आवश्यकताबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको छ। साथै, देशभर १३ वटामा वडाध्यक्ष पद रिक्त रहेको र ती पदहरूमा पनि निर्वाचन गर्नुपर्ने आयोगले अवगत गराएको छ। प्रधानमन्त्री ओलीले आगामी नियमित निर्वाचनका लागि पूर्वतयारी गर्न समेत आयोगलाई सुझाव दिएका छन्।
भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा सहभागी थिए।