काठमाडौं, असार ६ :

ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न ओभरपासको शुक्रबार उद्घाटन गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोजना उद्घाटन गरिए पनि रिबन भने उनले काटेनन्। प्रधानमन्त्रीको आग्रहमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे।

ट्राफिक समस्या समाधानका लागि चार वर्षभन्दा बढी समय लगाएर निर्माण गरिएको  यो ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर छ। ग्वार्को चोकदेखि लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लम्बाइ रहेको यो संरचना चार तहको कालोपत्र सहित बनाइएको हो। र्‍याम्पको दूरी १०.२ मिटर रहेको छ।

ओभरपासको ठेक्का २०७८ फागुन १२ मा आशिष–समानान्तर रेलिगेर जेभी कम्पनीसँग दुई वर्षभित्र काम सम्पन्न गर्ने शर्तमा गरिएको थियो। तर काम समयमै नसकिएपछि तीनपटक म्याद थपियो, अन्ततः २०८१ पुस ८ मा निर्माण सम्पन्न भयो। निर्माण ढिलाइको कारण ठेकेदार कम्पनीबाट १ करोड ४७ लाख रुपैयाँ हर्जना असुल गरिएको छ।

सुरूको अनुमानित लागतभन्दा १४ करोड रुपैयाँ बढी खर्च भएको यस आयोजनाको निर्माण तथा डिजाइन त्रुटिको जिम्मेवारी निर्माण कम्पनीले पाँच र दस वर्षसम्म लिने शर्त राखिएको छ।

सिमसिमे पानीमा भएको उद्घाटन समारोहमा शिलालेख अनावरण प्रधानमन्त्री ओलीले गरे पनि, रिबन ट्राफिक प्रहरी प्रमुखले काटेपछि तालीसहित आयोजना सार्वजनिक रूपमा हस्तान्तरण गरिएको हो।