काठमाडौं, असार ६ :

नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ।

व्यापारी राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएर त्यसलाई शुद्धीकरण गरेको ठहर गर्दै विशेष अदालतको इजलासले शुक्रबार बस्नेत र कँडेल दुवैलाई दोषी ठहर गरेको हो।

विशेष अदालतले सजाय निर्धारणका लागि असार १६ गते पेसी तोकेको छ। बस्नेतविरुद्ध अख्तियारले १३ करोड १२ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको माग गरेको छ। व्यापारी कँडेललाई पनि सम्पत्ति शुद्धीकरणमा मद्दत र सहजीकरण गरेको अभियोगमा दोषी ठहर गरिएको हो।

बस्नेतले नगर प्रमुखको पदको दुरुपयोग गर्दै नगर क्षेत्रभित्र घरजग्गा कारोबार गर्दै आएका कँडेलसँग मिलेर जग्गा कर छुट, विदेशी सहायता सहमति, तथा मन्दिर निर्माणका नाममा प्लटिङ बिक्री जस्ता कार्य गरेको अभियोग लागेको थियो।

विशेष अदालतका अनुसार, घूसबापत बस्नेतले २ करोड १५ लाख रुपैयाँ नगद, ६ करोड ८२ लाख रुपैयाँ बराबरको जग्गा, र २४ लाख रुपैयाँको वैवाहिक भोजको खर्च व्यापारीमार्फत भुक्तानी गराएका थिए। ती रकमहरू बस्नेत र उनकी पत्नी उर्मिलाको खातामा जम्मा गरिएको र त्यसैगरी रकम शुद्धीकरण गरिएको पुष्टि भएको छ।

पत्नी उर्मिला बस्नेतलाई भने अदालतले सफाइ दिएको छ। बस्नेत २०७४ र २०७९ सालमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।