काठमाडौं, असार ७ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज तेस्रो स्थापना दिवस मनाउदैछ ।

"लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा” भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउन लागेको सो पार्टीले जनाएको छ ।  यस अवसरमा आज बिहान ९ बजे माईतिघर काठमाण्डौंमा वृहत भेलाको आयोजना गर्दैछ ।

पार्टीले स्थापना दिवस मानिरहँदा पार्टीका सभापति रवि लामिछाने भने उपस्थित हुनेछैनन्। सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा भएकाले उनी कार्यक्रममा उपस्थित हुने छैनन् । वैकल्पिक राजनितिक शक्तिको नेतृत्व लिएर उदाएका  रवि लामिछाने तीन वर्षमा एकपछि अर्को मुद्दामामिलाको  झमेलामा पर्दै आएका छन् ।

रविले काठमाडौँ, कास्की,चितवन,पर्सा र रुपन्देही जिल्ला अदालतमा मुद्दा लडिरहेका छन् । रास्वपाका नेताहरूले रविमाथि सत्ता र शक्तिको आडमा षड्यन्त्रपूर्वक राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउदै आएका छन् ।

राजनीतिक हिसाबले तीन वर्षको अवधि छोटो भएपनि यस अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार,संसद्,संसदीय समितिहरूमा र जनताको बीचबाट इमान्दारिताका साथ सुसासन,जनताको मुद्दा र भ्रष्टाचार विरुद्धको अभियानमा निरन्तर क्रियाशील रहेको रास्वपाको ठहर छ ।   २ पटक गरी करिब पाँच महिनासम्म रास्वपा सरकारमा रहयो । सरकारमा रहदा देश र जनताको हितमा महत्त्वपूर्ण काम गर्ने प्रयास गरेको समेत सो पार्टीको जिकिर छ ।