
कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा १९ वर्षीया सुत्केरी महिला तुलसी नाथको हत्या उनकै देवर नवीन नाथले गरेको खुलासा भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार, अभियुक्त नवीनले आफ्नै भाउजुलाई सिरानीले मुख थिचेर हत्या गरेको स्वीकार गरेका छन्।
शुक्रबार बिहान तुलसीको शव घरनजिकैको नालामा फेला परेको थियो। शवमा बाह्य चोटपटक देखिएको थिएन। तर, कानका गहना हराएको देखिएपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा मृतकको देवर नवीन नाथलाई पक्राउ गरी सोधपुछ गर्दा उनले हत्या स्वीकार गरेका हुन्।
प्रहरीका अनुसार, भारतमा रोजगारी गर्दै आएका नवीन अघिल्लो वर्ष चैतमा बिरामी भएर घर फर्किएका थिए। त्यसपछि बेरोजगार भएका उनी भाउजू तुलसीले आफन्तमाझ आलोचना गरेको झोकमा हत्या गरेको बयान दिएका छन्। साथै, हत्या पश्चात भाउजूका सुनका गहना निकालेर घरनजिकै ढुंगामुनि लुकाएको पनि उनले स्वीकार गरेका छन्।
प्रहरीले नवीनको बयानकै आधारमा लुकाइएका गहना बरामद गरेको छ। हत्या भएको बेला घरमा अन्य कोही पनि थिएनन्। सासू-ससुरा पहाड गएका थिए भने श्रीमान् रोजगारीका लागि भारतमा थिए। मृतक तुलसीको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको छ।