
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्यास र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्खनन तथा उत्पादन कार्यमा तीव्रता दिन निर्देशन दिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सम्बन्धित निकायका अधिकारीहरूसँगको छलफलमा उनले ग्यास उत्पादन एक वर्षभित्र र फलाम/स्टिल उत्पादन २०८५ सालभन्दा अघि सुरु गर्ने गरी तयारी गर्न आदेश दिए।
प्रधानमन्त्री ओलीले मिथेन ग्यास उत्पादनका लागि आवश्यक बजेट, स्रोत र सरकारी सहजीकरणको कमी नहुने स्पष्ट पारे। यस्तै, फलाम उत्खनन तथा उत्पादनका लागि कानुनी र प्रशासनिक प्रबन्ध गर्न सरकारले पहल गर्ने बताए।
छलफलका क्रममा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चाइना जियोलोजिकल सर्भेले दैलेखमा गरेको पेट्रोलियम अन्वेषणको प्रारम्भिक प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको थियो। प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२.१ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार भेटिएको छ। अन्य क्षेत्रमा पनि ग्यास रहेको अनुमान गरिएको छ।
त्यस्तै, पूर्वी नवलपरासीस्थित धौवादी फलाम खानीमा ड्रिलिङ तथा सम्भाव्यता अध्ययन अगाडि बढिरहेको जानकारी गराइएको थियो। धौवादी फलाम कम्पनी लिमिटेडका अनुसार त्यहाँ झन्डै ९९ मिलियन टन फलामको भण्डार रहेको छ, जसले आगामी सय वर्षसम्मको माग धान्न सक्छ। कम्पनीले २०८५ सालभित्र फलाम/स्टिल उत्पादन सुरु गर्न सकिने जनाएको छ।
छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग मन्त्री दामोदर भण्डारी, दैलेखका सांसदहरू लगायतका अधिकारीहरूको उपस्थिति थियो।