काठमाडौं, असार ९ :

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले डेङ्गी रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल र उदयबहादुर बोहोराले देशभर डेङ्गी नियन्त्रणका लागि सरकारको पहल कमजोर देखिएको धारणा राखे । उनीहरुले यस विषयमा गम्भीर हुनुपर्ने सुझाए । अहिले ७३ जिल्लामा डेङ्गी संक्रमण फैलिएको र १४ सयभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेको विषय संसद्‌मा उठाउँदै सांसदहरूले यसको नियन्त्रणका लागि पहल गर्न संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद जयन्तीदेवी राईले काठमाडौँ उपत्यकामा खानेपानी अभाव देखिएको विषयमा संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराइन् । अहिले मेलम्चीको पानी नआएको एक साताभन्दा बढी समय भइसकेको बताउँदै उनले तत्काल समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणा राखिन् ।

अर्का सांसद तुलप्रसाद विश्वकर्माले विभिन्न सडकखण्डमा अवरोध सिर्जना भएको र यात्रुले सास्ती पाएको विषय संसद्‌मा उठाए । सांसद राजेन्द्रलक्ष्मी गैरेले नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती पाएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद दुर्गाकुमारी गुरुङले विद्युत् प्रसारणलाइन निर्माणका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणमा तीव्रता दिन आग्रह गरिन् ।

अर्का सांसद नरबहादुर विष्टले अहिले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हतियार खरिद प्रक्रिया अघि बढाएको विषय बाहिर आएको उल्लेख गर्दै अहिले हतियार खरिद गर्नुभन्दा नागरिकका विकास आकांक्षा र आवश्यकता पूरा गर्नुपर्ने धारणा राखे ।

सांसद नारायणदत्त मिश्रले कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाट क्षेत्रमा धार्मिक पर्यटन प्रवर्धनका लागि लागि सरकारको ध्यान पुग्न नसकेको विषय उठाए । देवघाटमा सुरक्षित स्नान गर्ने व्यवस्था मिलाइनुपर्ने उनको माग छ ।

अर्का सांसद सांसद भुवनबहादुर सुनारले दलितमाथिको विभेद अझै अन्त्य हुन नसकेको विषय राष्ट्रिय सभामा उठाउनुभयो । सांसद मदनकुमारी शाह गरिमाले बैंक तथा वित्तीय संस्थाहरूको अवकाश कोषलाई कर्मचारी सञ्चयकोष तथा सामाजिक सुरक्षा कोषमा गाभ्ने विषयलाई बाध्यात्मक नभई स्वेच्छिक बनाइनुपर्ने बताइन् ।

सांसद मोहम्मद खालिदले सबै प्रदेशलाई प्रहरीको पदपूर्ति गर्ने व्यवस्था मिलाइनुपर्नेमा जोड दिए । त्यस्तै युवराज शर्माले संसदीय समितिबाट स्वीकृत भएर गएका निजामती सेवा विधेयक र विद्यालय सेवा विधेयकमा सरकारले हस्तक्षेप गर्न खोजेको आरोप लगाए । सांसद उर्मिला अर्यालले मध्यपूर्वी देशहरूमा देखिएको तनाव रोक्न सबै देशहरूले पहल गर्नुपर्ने र विश्व शान्तिका लागि प्रयत्न गरिनुपर्ने धारणा राखिन् ।