काठमाडौं, असार ९ :

 जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएको छ।

पार्टीले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन र आर्थिक सुधारजस्ता महत्वपूर्ण विषयमा पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै, संघीय संसदीय दललाई समर्थनबारे पुनर्विचार गर्न निर्देशन दिएको हो।

असार ७ र ८ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले उक्त निर्णय लिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए। उनका अनुसार, बैठकले सरकारसँगको समर्थन जारी राख्ने वा फिर्ता लिने निर्णय गर्न संसदीय दललाई स्पष्ट निर्देशन दिएको छ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेकोले, पार्टीद्वारा विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देशन दिइन्छ।’

त्यसैगरी, बैठकले पार्टी परित्याग गरी हालै जसपामा प्रवेश गरेका पाँच नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ।

पर्साबाट शशि कपुर मियाँ, करिमा बेगम, र सुधीर नाथ पाण्डे तथा रूपन्देहीबाट कैलास गुरुङ र नीलम यादव नयाँ केन्द्रीय सदस्यका रूपमा मनोनीत भएका हुन्।