काठमाडौं, असार ९ :

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनमा सम्भावित बाढी, पहिरो र डुबानजन्य जोखिमलाई ध्यानमा राखी आवश्यकतानुसार सवारीसाधन सञ्चालनमा रोक लगाउन पहल गर्ने निर्णय गरेको छ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको सोमबार बसेको दोस्रो बैठकले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार भारी वर्षाका कारण नदी, खोला, नाला तथा सडक सञ्जालहरूमा बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले मौसम पूर्वानुमानको आधारमा सवारीसाधन सञ्चालन नियमन गरिनेछ।

सडक तथा राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरणहरू २४ घण्टा तयारी अवस्थामा राख्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, कम्तिमा १५ दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई निर्देशन दिने तयारी गरिएको छ।

बैठकमा गत जेठ २८ गते बसेको पहिलो बैठकको निर्णय कार्यान्वयनको समिक्षा गरिएको थियो। समिक्षाबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि सबै निकायको एकीकृत प्रयास आवश्यक देखिएको बताइएको छ।

प्राधिकरणले सबै निकायलाई कार्ययोजनाको कार्यान्वयन सुनिश्चित गर्न र त्यसको प्रगति मासिक रूपमा प्राधिकरणमा पठाउन समेत अनुरोध गर्ने निर्णय गरेको छ।