काठमाडौं, असार ९ :

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धिकरण मुद्दाबाट सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। विशेष अदालतले दोषी ठहर गरेको फैसला उल्टाउँदै सर्वोच्च अदालतले लामासँगको सम्पत्ति वैध रहेको ठहर गरेको हो।

न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला खारेज गर्दै लामा दोषी नरहेको निर्णय सुनाएको हो।

यसअघि २०७५ साउन २४ गते विशेष अदालतले लामालाई १ वर्ष कैद, बिगोबराबरको सम्पत्ति जफत तथा जरिवाना गर्ने फैसला गरेको थियो। विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रहेको ठहर गरेको थियो।

२०७० जेठ ५ गते सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै २७ करोड रुपैयाँ बराबरको सम्पत्ति अवैध रहेको दाबी गरेको थियो। सोही सम्पत्ति जफत गरी जरिवाना गर्न मागदाबी गरिएको थियो।